`

जेनजी आन्दोलनको आगजनीले ध्वस्त ‘सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’

Nepal One HD २४ असार २०८३ १४:०९
फिचर

काठमाडौं। ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलन आयोजना गर्न निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।

भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना, विद्युतीय प्रणाली, कुर्सी तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको हो।

सरकारी स्वामित्वको संरचना भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तथा भदौ २० देखि २२ गतेसम्म नेकपा (एमाले)को विधान महाधिवेशन यही हलमा आयोजना गरिएको विषयलाई आधार बनाएर प्रदर्शनकारीहरूले सम्मेलन केन्द्रलाई निशाना बनाएको बताइएको छ।

गोदावरीमा ४३ रोपनी १५ आनामा निर्माण गरिएको उक्त सम्मेलन केन्द्र करिब तीन हजार सहभागी अट्ने क्षमताको आधुनिक पूर्वाधार हो। शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते भर्चुअल माध्यमबाट यसको उद्घाटन गरिएको थियो।

परियोजनाको प्रारम्भिक निर्माण लागत करिब ६२ करोड रुपैयाँ निर्धारण गरिए पनि निर्माण अवधिमा लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसी–समानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको समयसीमा दुई पटक थप गरिएको थियो।

२०७८ असारदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको यो केन्द्रमा सरकारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी तथा औपचारिक कार्यक्रम आयोजना हुँदै आएका थिए। सम्मेलन केन्द्रका लागि अधिग्रहण गरिएको जग्गामध्ये करिब १ सय रोपनीभन्दा बढी क्षेत्र अतिक्रमणमा परेको विषय यसअघि पनि सार्वजनिक रूपमा उठेको थियो।

भदौ २४ को हिंसात्मक घटनापछि मुख्य सभाहल प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। आगलागीका कारण भवनको संरचनागत सुरक्षामै असर परेको प्रारम्भिक आकलन गरिएको छ भने क्षतिको विस्तृत मूल्याङ्कन सम्बन्धित निकायले गरिरहेको छ।

राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस्तो आधुनिक पूर्वाधारमा भएको आगजनी र तोडफोडले करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

सरकारी कार्यक्रम तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलन सञ्चालनका लागि तयार पारिएको यो संरचनामा भएको विनाशले सार्वजनिक सम्पत्तिको सुरक्षा र आन्दोलनका क्रममा हुने हिंसात्मक गतिविधिप्रति गम्भीर प्रश्नसमेत उठाएको छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *