`

संसदमा आज : शून्य समयमा सांसदहरूको सरकारलाई ध्यानाकर्षण

Nepal One HD २५ असार २०८३ १४:४४
बिशेष

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले शून्य समयको सदुपयोग गर्दै मुलुकका विभिन्न क्षेत्रसँग सम्बन्धित समसामयिक समस्या उठाएका छन्।

साना तथा मझौला उद्योगको प्रवर्द्धन, स्वास्थ्य सेवा, कृषि, खानेपानी, सडक पूर्वाधार, वैदेशिक रोजगारी, विद्युत् विस्तार, विपद् व्यवस्थापन, सार्वजनिक यातायात तथा जङ्गली हात्ती नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो।

सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान उल्लेखनीय रहेकाले यस्ता उद्योगलाई सरकारी सहयोग, सहुलियत, तालिम तथा नीतिगत सहजीकरण उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइन्। उनले उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सरकारले यस क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

सांसद अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशस्थित कृष्णनगर भन्सारको स्तरोन्नति गर्न सरकारसँग माग गरे। सांसद अम्बिकादेवी सङ्ग्रौलाले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाए–नपाएको विषयमा नियमित अनुगमन हुनुपर्ने बताइन्।

राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेका प्रतिवेदन सार्वजनिक गर्न सांसद अर्जुननरसिंह केसीले सरकारसँग माग गरे। सांसद आकृति अवस्थीले सार्वजनिक स्थानमा धुम्रपान निषेधसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उल्लङ्घन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्न आग्रह गरिन्।

सांसद आनन्दबहादुर चन्दले वैज्ञानिक कृषि अभ्यासको अभाव र रासायनिक मलको असन्तुलित प्रयोगका कारण उत्पादनमा असर परेको उल्लेख गर्दै किसानलाई माटो परीक्षण र मलको उचित प्रयोगसम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने बताए। सांसद आरेन राईले खोटाङ–भोजपुर सडकखण्डको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।

सांसद आशा झाले साना संस्थालाई पूर्ण लेखापरीक्षण अनिवार्य गर्ने विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्नुपर्ने धारणा राखिन्। सांसद आशिष गजुरेलले विकास आयोजनाका लागि विनियोजन गरिएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए भने सांसद आशिका तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन सरकारसँग आग्रह गरिन्।

सांसद उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए। सांसद एशुदाकुमारी बरालले कर्णाली प्रदेशमा सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन्।

सांसद ओजस्वी शेरचनले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्पष्ट नीति र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखिन्। सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका नाममा नेपाली श्रमिक ठगिने क्रम बढेकाले प्रभावकारी नियमन र निगरानी व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरे।

धान रोपाइँको मुख्य समय बितिरहेकाले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने माग सांसद करिष्मा कठरियाले गरिन्। सांसद कविन्द्र बुर्लाकोटीले गोरखाको अजिरकोट र सिरानचोक गाउँपालिकासहितका क्षेत्रमा खानेपानीका धारा भए पनि पानी नआउने समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद कामिनी कुमारीले जलेश्वर अस्पतालको सेवा र पूर्वाधार विस्तार गर्दै स्तरोन्नति गर्न माग गरिन्। सांसद कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौं उपत्यकामा खानेपानीको समस्या गम्भीर बनेको उल्लेख गर्दै तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

सिंहदरबारभित्र रहेका राष्ट्रिय सम्पत्तिको संरक्षणमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता सांसद कुसुम महर्जनले औँल्याइन्। सांसद खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट पछिल्ला वर्षहरूमा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै यसको दीर्घकालीन नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरे।

सांसद खडकबहादुर बुढाले कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद गजाला शमीम मिकरानीले वर्षायामका कारण विपद्को जोखिम बढेकाले उद्धार, राहत र पूर्वतयारीका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *