कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ
काठमाडौं । संघीय राजधानीको अत्यधिक व्यस्त कोटेश्वर-बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित र व्यवस्थित फुटपाथको अभाव देखिएको छ।
सडक दैनिक हजारौं सवारीसाधन र सर्वसाधारणको आवतजावत हुने मुख्य मार्ग भए पनि अधिकांश स्थानमा फुटपाथ अधुरो, जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेकाले पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्।
सडकको केही भागमा नालीमाथि व्यवस्थित रूपमा फुटपाथ निर्माण गरिएको भए पनि धेरै स्थानमा त्यो अचानक अन्त्य हुन्छ। त्यसपछि नाली छोप्न राखिएका फलामका प्लेट प्रयोग गरिएको छ, तर तीमध्ये धेरै प्लेट भासिएका, बिग्रिएका वा आफ्नो स्थानबाट खस्किएका छन्। कतिपय ठाउँमा फलामका धार बाहिर निस्किएका कारण पैदलयात्रीका लागि थप जोखिम सिर्जना भएको छ। जोखिमयुक्त स्थानमा अस्थायी रूपमा बाँस टेकेर चेतावनी दिने प्रयास गरिए पनि त्यसले समस्या समाधान गर्न सकेको छैन।
स्थानीय बासिन्दाका अनुसार जीर्ण अवस्थामा रहेका फलामका प्लेटका कारण पैदलयात्रीले पटक-पटक दुःख पाउने गरेका छन्। कतिपय अवस्थामा मानिसहरूको खुट्टा प्लेटबीच फसेर सामान्यदेखि गम्भीर चोट लाग्ने घटना समेत भएको उनीहरूको भनाइ छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दृष्टिविहीन व्यक्तिका लागि यो अवस्था अझ चुनौतीपूर्ण बनेको छ। रातिको समयमा पर्याप्त प्रकाशको व्यवस्था नहुँदा जोखिम झन् बढ्ने गरेको स्थानीयले बताएका छन्।
फुटपाथ सुरक्षित नभएका कारण धेरैजसो पैदलयात्री सडकको किनार हुँदै हिँड्न बाध्य छन्। यसले तीव्र गतिमा सञ्चालन हुने सवारीसाधनसँग ठोक्किने वा दुर्घटनामा पर्ने सम्भावना बढाएको छ। व्यस्त सडकमा पैदलयात्री र सवारीसाधन एउटै लेन नजिकबाट गुड्नुपर्ने अवस्थाले दैनिक आवागमन असुरक्षित बनेको सर्वसाधारणको गुनासो छ।
स्थानीयवासीले सम्बन्धित निकायले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि स्थायी समाधानको पहल नगरेको बताएका छन्। उनीहरूले जीर्ण फलामका प्लेट हटाई निरन्तर, सुरक्षित र अपाङ्गतामैत्री फुटपाथ निर्माण गर्न तथा जोखिमयुक्त स्थानको तत्काल मर्मत गर्न माग गरेका छन्।
संघीय राजधानीको प्रमुख सडकमा पैदलयात्रीको सुरक्षाजस्तो आधारभूत विषय नै उपेक्षित हुँदा दैनिक हजारौं नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्।
सडक पूर्वाधार विस्तारसँगै पैदलयात्रीको सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन्।
तस्वीरहरू:
















