दलाई लामाकाे जन्माेत्सवले तरङ्ग, के हाेला नेपाल-चीन सम्बन्ध ?
काठमाडाैं । हिंसात्मक ढंगले नेपालमा सत्ता परितर्वन गरेको जेनजी विद्रोहमा टीओबीको घुसपैठ थियो । यो प्रमाणित तथ्य हो । टीओबी तिब्बतलाई चीनबाट स्वतन्त्र बनाउन चाहन्छ ।
यो संगठन दलाई लामाको हो । दलाई लामाको यही संगठनका युवाहरुले गत वर्षको भदौ २३ र २४ गते नेपालको काठमाडौंमा भएको जेनजी विद्रोहमा घुसपैठ गरे ।
हालका गृहमन्त्री सुधन गुरुङलाई टीओबी निकट मानिन्छन् । कतिपयले उनलाई टीओबी ग्याङका नेता पनि भन्ने गरेका छन् । र, नेपालका पुराना राजनीतिक दलहरु जेनजी विद्रोह गराउन अमेरिका र भारतको धर्मशालामा बस्दै आएका निर्वासित तिब्बती धर्म गुरु दलाई लामा पनि जिम्मेवार रहेको आरो लगाउँछन् ।
दलाई लामा धर्म गुरु भए पनि अमेरिकाको लागि त्यहाँको गुप्तचर निकाय सीआईएको एजेन्टको रुपमा काम गरेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।
उनले अमेरिकाको लागि काम गर्ने गरेको बुझाई चीनको छ र केही वर्षअघि लामामाथि बाल यौन दुराचारको आरोप पनि लागेको थियो ।
भारतको धर्मशालामा बसेर चीन विरुद्ध गतिविधि गर्ने र काठमाडौंको बौद्ध, स्वयम्भू, जावलाखेल लगायत क्षेत्रमा रहेका तिब्बती शरणार्थीहरूलाई चीनविरुद्ध प्रदर्शन गर्न लगाउने आरोप उनीमाथि लाग्ने गरेको छ ।
संविधान निर्माण हुँदै गर्दा एकपछि अर्को तिब्बती शरणार्थीहरुले आत्मदाह गरेको घटनालाई चीनले दलाई लामाले उक्साएको अथ्याउँथ्यो ।
उनै दलाई लामाको हालै काठमाडौंको नागार्जुनस्थित नाम्ग्याल विद्यालयमा ९१औँ जन्मजयन्ती मनाएको खुल्यो । जबकि, नेपालका लागि चिनियाँ राजदूत माओमिङले दलाई लामाको जन्मजयन्ती मनाउन नदिन भनेका थिए ।
स्रोतको दाबीमा दलाई लामाको जन्मजयन्ती मनाउन दिए नेपालले एक चीन नीतिको उल्लघंन गरेको मानिने चेतावनी दिएका थिए । तर, विभिन्न देशका राजदूत सहभागी भएर लामाको जन्मजयन्ती मनाएको विषय बाहिरियो ।
यसले नेपालमा हलचल मच्चिएको छ । नेपालले के एक चीन नीतिको परराष्ट्र नीति परिवर्तन गरेको हो ? चीनका लागि पूर्वनेपाली राजदूतले बालेन सरकारसँग गम्भीर प्रश्न गरेका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विरोध जनाएका छन् । उनीहरुले बालेन सरकारले एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्नुपर्ने बताएका छन् ।
यदि बालेन सरकारकै सहमतिमा उक्त कार्यक्रम भएको हो भने त्यसले नेपाल–चीन सम्बन्धमा गलत सन्देश जाने उनीहरूको भनाइ छ ।
यस्तै संसदमा पनि दलाई लामाको जन्मोत्सव मनाएको विषयलाई लिएर बालेन सरकारको चर्को विरोध भएको छ ।
एमाले प्रमुख सचेतक ऐन महरदेखि नेकपा सांसद रमेश मल्ले विरोध गरे । उनीहरुले यसबारे बालेन सरकारको जवाफ मागेका छन् ।
काे हुन् दलाई लामा ?
लामा तिब्बती बौद्ध धर्मका सर्वोेच्च आध्यात्मिक नेता हुन् । उनलाई धार्मिक गुरु मात्र होइनन्, तिब्बती जनताको सांस्कृतिक पहिचान र अधिकारको आवाजका रूपमा पनि चिनिन्छन् ।
वर्तमान दलाई लामा १४औँ दलाई लामा हुन् । उनको वास्तविक नाम तेन्जिन ग्यात्सो हो । उनको जन्म सन् १९३५ जुलाई ६ मा उत्तर–पूर्वी तिब्बतको आम्दो क्षेत्रको टाक्त्सेर गाउँमा एक सामान्य किसान परिवारमा भएको थियो । जन्मदा उनको नाम ल्हामो थोन्दुप राखिएको थियो ।
तिब्बती बौद्ध परम्पराअनुसार उनी दुई वर्षको उमेरमै १३औँ दलाई लामाको पुनरअवतारका रूपमा चिनिएका थिए ।
त्यसपछि उनलाई धार्मिक शिक्षाका लागि ल्हासा लगियो । त्यहाँ उनले बौद्ध दर्शन, तर्कशास्त्र, ध्यान र धर्मशास्त्रको लामो समय अध्ययन गरे ।
दलाई लामा शब्दको अर्थ ज्ञानको महासागर भन्ने हुन्छ । तिब्बती बौद्ध धर्ममा दलाई लामालाई करुणाका बोधिसत्व अवलोकितेश्वरको अवतार मानिन्छ । प्रत्येक दलाई लामा अघिल्लो दलाई लामाकै पुनर्जन्म भएको विश्वास गरिन्छ ।
सन् १९५० मा चीनले तिब्बतमाथि नियन्त्रण विस्तार गरेपछि तिब्बतको राजनीतिक अवस्था बदलियो । त्यसबेला दलाई लामा किशोर अवस्थामा थिए । परिस्थितिका कारण उनले १५ वर्षकै उमेरमा राजनीतिक नेतृत्वको जिम्मेवारी पनि सम्हाल्नुपरेको थियो ।
सन् १९५९ मा चीनविरुद्धको तिब्बती विद्रोह असफल भएपछि दलाई लामा हजारौँ अनुयायीसहित भारत पुगे । त्यसयता उनी भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । त्यहीँबाट उनले तिब्बती निर्वासित समुदायको नेतृत्व गर्दै आएका छन् । अर्थात् उनले समानान्तर सरकार चलाइरहेका छन् ।
त्यही भएर धर्मशालालाई अहिले तिब्बती निर्वासित समुदायको प्रमुख केन्द्र मानिन्छ । त्यहाँ निर्वासित प्रशासन, धार्मिक संस्था र सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
दलाई लामाले लामो समयसम्म तिब्बतको राजनीतिक नेतृत्व पनि सम्हाले । तर, सन् २०११ मा उनले राजनीतिक अधिकार निर्वाचित तिब्बती नेतृत्वलाई हस्तान्तरण गरे । त्यसपछि उनी पूर्ण रूपमा आध्यात्मिक भूमिकामा केन्द्रित भएका छन् ।
खासगरी पश्चिमा समुदायले लामालाई विश्वभर शान्ति, करुणा, सहिष्णुता, अन्तरधार्मिक सद्भाव र मानव मूल्यको प्रवद्र्धनका लागि चिन्छन् । र, उनलाई सन् १९८९ मा शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
तिब्बतको प्रश्नमा अहिंसात्मक संघर्ष र विश्व शान्तिप्रतिको योगदानको सम्मानस्वरूप उनलाई उक्त पुरस्कार दिइएको थियो ।
दलाई लामाले हिंसाको सधैँ विरोध गरेका छन् । चीनसँगको विवाद समाधान संवाद र अहिंसामार्फत हुनुपर्ने उनको धारणा रहँदै आएको छ ।
यद्यपि चीनले भने उनलाई पृथकतावादी नेताका रूपमा चित्रण गर्दै आएको छ । बेइजिङले तिब्बत चीनको अभिन्न अंग भएको दाबी गर्छ । दलाई लामाले भने वास्तविक स्वायत्तताको पक्षमा आवाज उठाउँदै आएका छन् ।
हाल दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ । उनले आफ्नो पुनरअवतार परम्पराअनुसार नै हुने र त्यसको पहिचान गर्ने अधिकार गादेन फोड्राङ ट्रस्टसँग मात्रै रहने स्पष्ट गरिसकेका छन् ।
यसको ठीक विपरीत चीनले दलाई लामाको पुनरअवतारलाई आफ्नो कानुनी प्रक्रियाअनुसार स्वीकृत गरिनुपर्ने बताउँदै आएको छ । यही विषय भविष्यमा चीन र तिब्बती निर्वासित समुदायबीचको प्रमुख विवाद बन्ने अनुमान गरिएको छ ।
तिब्बती परम्पराअनुसार नयाँ दलाई लामाको खोजी निकै जटिल प्रक्रिया हो । उच्च तहका लामाहरूले विभिन्न धार्मिक संकेत, दर्शन, सपना तथा अन्य परम्परागत विधिका आधारमा पुनर्जन्म लिएको बालकको खोजी गर्छन् । त्यसपछि लामो परीक्षण र धार्मिक शिक्षापछि मात्रै नयाँ दलाई लामालाई औपचारिक मान्यता दिइन्छ ।
दलाई लामाले आफूलाई प्रायः साधारण बौद्ध भिक्षु भनेर चिनाउने गर्छन् । तर, विश्वभर उनका करोडौँ अनुयायी छन् । उनले दर्जनौँ पुस्तक लेखेका छन् । शिक्षा, विज्ञान, वातावरण संरक्षण, मानसिक स्वास्थ्य र नैतिकताका विषयमा पनि उनले निरन्तर विचार राख्दै आएका छन् ।
विश्वका धेरै राष्ट्र प्रमुख, धार्मिक अगुवा, वैज्ञानिक तथा शिक्षाविद्सँग उनले संवाद गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिसमेत प्रदान गरेका छन् ।
९१ औँ जन्मजयन्ती मनाइसकेका दलाई लामा अझै पनि सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन र विश्व शान्तिसम्बन्धी गतिविधिमा सक्रिय देखिन्छन् । उनका अनुयायीहरूले उनलाई तिब्बती पहिचान, करुणा र अहिंसाको सबैभन्दा ठूलो प्रतीक मान्छन् ।
तिब्बतको राजनीतिक भविष्य जस्तोसुकै भए पनि दलाई लामाको नाम विश्व इतिहासमा शान्ति, सहिष्णुता, धार्मिक स्वतन्त्रता र मानवीय मूल्यका पक्षधर नेताका रूपमा सधैँ स्मरण गरिने विश्लेषकहरूको भनाइ छ ।
