धोबीखोलामा हाम फालेकी महिलाको शव बागमती नदीमा फेला [फोटो-फिचर]
काठमाडौं। काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोजी अभियानका क्रममा बागमती नदीबाट शव निकालिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको भन्ने सूचना प्राप्त भएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। त्यसपछि बागमती नदीमा खोजी कार्य सुरु गरिएको थियो।
खोजीका क्रममा सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्ट, कीर्तिपुरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित कुमारी क्लब नजिक बागमती नदीबाट महिलाको शव फेला पारेको हो।
प्रहरीका अनुसार हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तस्वीरहरू:











