गणेश नेपालीको अन्तिम वचन: ‘दाइ, बाबा-मम्मीलाई राम्रो गर्नुस्…’
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सार्वजनिक गर्दै भावविह्वल बनेका छन्। वीर अस्पतालमा उपचाररत गणेशको निधन हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदनले भाइले अन्तिम क्षणसम्म आफू निर्दोष रहेको दोहोर्याएको बताएका हुन्।
मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा गणेश नेपाली पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै ‘पठाओ’ चालकका रूपमा काम गर्दै आएका थिए। मदनका अनुसार गणेशको जीवन सामान्य संघर्षमै बितिरहेको थियो र मोटरसाइकलको किस्ता तिर्न दैनिक बिहानैदेखि रातिसम्म काम गर्थे।
मदनले घटनाअघिको बिहान सम्झिँदै भने, ‘पर्सि-निकपर्सि बाइकको किस्ता तिर्ने दिन थियो, त्यही भएर मैले नै बिहान उज्यालो हुनेबित्तिकै उठाएर पठाओ गर्न जाऊ भनेर पठाएको थिएँ। अरूलाई डिस्टर्ब नहोस् भनेर उसले बाइक स्टार्ट नगरी रोडमा डोर्याएर लगेको थियो। बिहान म आफैँले बनाएको सिमी र खुट्टाको मासु खान पनि नपर्खिई ऊ काममा निस्किएको थियो।’
उनका अनुसार घटनाको केही घण्टाअघि मात्रै दाजुभाइबीच सामान्य पारिवारिक कुराकानी भएको थियो। अघिल्लो रात गणेश आफैँले खसीको खुट्टा किनेर ल्याएको र खाना बनाएर खान आग्रह गरेको स्मरण गर्दै मदनले भने, ‘ऊ राति मासु लिएर आएको थियो। मलाई ‘दाइ उठ्नुस् न, बनाउनू’ भन्यो। मैले ‘भयो, छोड’ भनेँ। उसले त्यही भात खाएर सुत्यो।’
बिहान आफैले भाइलाई काममा जान सम्झाएको उनले बताए। ‘मैले भनेँ, ‘गणेश उज्यालो भयो। बाइकको किस्ता बुझाउने दिन आउँदै छ। पठाओ गर्न जाऊ।’ ऊ जुरुक्क उठ्यो, बाइक निकाल्यो। छिमेकीलाई आवाजले दुःख नहोस् भनेर सडकसम्म डोर्याएर लगेपछि मात्रै स्टार्ट गरेको थियो।’
दिउँसो करिब साढे दुई बजे प्रहरीबाट आएको फोनले परिवारमा बज्रपात भएको मदनले सुनाए। उनले भने, ‘पुलिसको नम्बरबाट फोन आयो। ‘तपाईंको मान्छेले पेट्रोल छर्केर आगो लगाउनुभएको रहेछ, वीर अस्पताल आउनुस्’ भन्नुभयो। म तीन बजे अस्पताल पुगेँ।’
अस्पताल पुग्दा गणेश बोल्न सक्ने अवस्थामा रहे पनि निकै कमजोर रहेको मदनले बताए। उनले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भक्कानिँदै भने, ‘उसको बोली अलिअलि फुटिरहेको थियो। उसले दुई-चार शब्द मात्रै बोल्न सक्यो। ‘दाइ, बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भन्यो। त्यसपछि ‘दाइ, मेरो गल्ती थिएन है, दाइ मेरो गल्ती थिएन है’ भनेर दुई पटक दोहोर्यायो।’
मदनका अनुसार आफूले ‘के भएको हो?’ भनेर सोध्दा गणेशले घटनाको छोटो संकेत मात्र गर्न सके। उनले भने, ‘उसले ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा–लाउँदै ट्राफिक आएर…’ यति मात्रै भन्न सक्यो। ‘ट्राफिक’ र ‘ह्वील लक’ भन्ने शब्द बोलेपछि उसको बोली बन्द भयो।’
गम्भीर जलनका कारण वीर अस्पतालमा उपचाररत गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। उनको मृत्युपछि परिवार शोकमा डुबेको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
