`

‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’- ज्ञानेन्द्र शाही प्रश्न

Nepal One HD २६ असार २०८३ १४:४०
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको उपचारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीको आलोचना गर्दै उपचार व्यवस्थापनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको टिप्पणी गरे।

‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ उनले प्रश्न गरे।

शाहीले गृहमन्त्री उपचारको प्रभावकारी व्यवस्थापनमा लाग्नुपर्ने बेलामा प्रचारका लागि विभिन्न स्थानमा दौडधुप गरिरहेको आरोप लगाए।

‘गृहमन्त्री हिजो फिल्मको नायकजस्तै कहिले एयरपोर्ट, कहिले यता, कहिले उता क्यामेरा लिएर दौडिरहनुभएको थियो,’ उनले भने, ‘यदि साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन।’

सांसद शाहीले गृहमन्त्रीको प्राथमिकता सामाजिक सञ्जाल वा युट्युबका लागि ‘कन्टेन्ट’ बनाउनु नभई नागरिकको जीवन रक्षा हुनुपर्ने धारणा राखे।

‘आज गृहमन्त्री कहाँ हिँड्नुभयो, युट्युबमा कति कन्टेन्ट बनाउनुभयो भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा उहाँको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ उनले भने।

उनले गणेश नेपालीलाई समयमै सुविधासम्पन्न अस्पतालमा वा आवश्यक परे एयर एम्बुलेन्स अथवा विमानमार्फत भारतको नयाँदिल्ली लगिएको भए उनको ज्यान जोगिन सक्ने दाबी पनि गरे।

‘एयरपोर्टमा दौडिनुको सट्टा एउटा जहाज पठाएर दिल्ली पुर्‍याएको भए आज उनको जीवन बच्ने थियो,’ शाहीले भने।

शाहीले प्रचारमुखी गतिविधिभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गर्दै गृहमन्त्री जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए।

‘गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नभई देशको वास्तविक गृहमन्त्री बन्न अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘मन्त्रीहरूले सडकमा चटक देखाउने होइन, काम गर्न आदेश दिने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *