गृहमन्त्रीको रास्वपा सांसदलाई कटाक्ष- ‘सदनमा जे बोल्नुहुन्छ, बाहिर पनि त्यही व्यवहार गर्नुस्’
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद्भित्र र बाहिर एउटै धारणा राख्न आग्रह गरेका छन् ।
गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारसँग जवाफ मागिरहेका सांसदहरूलाई लक्षित गर्दै उनले अगाडि–पछाडि फरक व्यवहार नगर्न सुझाव दिएका हुन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले केही सांसदहरूले व्यक्तिगत भेटमा एक किसिमको व्यवहार गर्ने तर सदनमा अर्कै शैलीमा प्रस्तुत हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘आफ्नै साथीभाइहरू जो अगाडि एउटा, पछाडि अर्को बोल्नुहुन्छ, चित्त बुझ्दैन । अगाडिजस्तै पछाडि पनि बोल्नुपर्यो,’ उनले भने, ‘अगाडि आउनुहुन्छ, एकदम घुलमिल गरेर बोल्नुहुन्छ । सदनमा जे बोल्नुहुन्छ, बाहिर पनि त्यही व्यवहार गर्नुस् न । हामीलाई यस्तो पर्दापछाडिको खेल मन पर्दैन ।’
गृहमन्त्री गुरुङले गणेश नेपालीलाई बचाउन राज्यका तर्फबाट सम्भव भएसम्मका सबै प्रयास गरिएको दाबी पनि गरे । सरकारले उपचारका लागि आवश्यक पहल गरेको उल्लेख गर्दै सरकारले कुनै प्रयास नगरेको जस्तो भाष्य निर्माण गर्नु गलत हुने उनको भनाइ थियो ।
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर विपक्षी दलहरूले सरकारको भूमिकामाथि प्रश्न उठाइरहेका बेला गृहमन्त्री गुरुङले संसद्मै सरकारको बचाउ गर्दै आलोचनाको प्रतिवाद गरेका हुन्।
