९ कन्सल्टेन्सी सञ्चालक पक्राउ,यसरी गरिन्थ्यो ठगी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का कलेजमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थीबाट रकम असुलेर ठगी गरेको आरोपमा नौ जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंका विभिन्न स्थानमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थामाथि अनुसन्धान गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार डिल्लीबजारस्थित एडुपोट प्रालिसँग सम्बन्धित तीन जना सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंका रुपक कोइराला, कास्कीका राजेश भण्डारी र बाराका सन्तोष खतिवडा छन्।
यस्तै, पुतलीसडकमा रहेको वेस्टफोर्ड एजुकेशन प्रालिकी सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) पनि प्रहरी नियन्त्रणमा परेकी छन्।
बानेश्वरस्थित प्रोप एभिएसन प्रालिसँग आबद्ध सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डेलाई पनि पक्राउ गरिएको छ। त्यसैगरी कालिमाटीमा रहेको एस्पायर ग्लोबल प्रालिका सञ्चालक विशाल चापागाईंलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यसरी गरिन्थ्यो ठगी
प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले यूएईका आधिकारिक नियामक निकायबाट मान्यता नपाएका शैक्षिक संस्थामा नेपाली विद्यार्थी भर्ना गराउँदै आएका थिए।
विद्यार्थीलाई ती कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायत अन्य मुलुकका विश्वविद्यालयमा सहज रूपमा ‘क्रेडिट ट्रान्सफर’ हुने र अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने भन्दै आकर्षक आश्वासन दिइएको थियो। यही प्रलोभन देखाएर उनीहरूले विद्यार्थीबाट ठूलो रकम असुलेको आरोप प्रहरीले लगाएको छ।
सीआईबीका अनुसार सम्बन्धित कलेजहरू यूएईको ‘उच्च शिक्षा मन्त्रालय’ वा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट आवश्यक मान्यता प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श संस्था तथा कलेजको आधिकारिक मान्यता, सम्बन्धन र विश्वसनीयता राम्रोसँग जाँच गरी मात्र भर्ना प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ।
