`

दाेलखामा पहिरोमा पुरिइन् चार महिने शिशु, आमा गम्भीर घाइते

Nepal One HD २९ असार २०८३ १०:१२
समाज

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार भिमेश्वर नगरपालिका-१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी-साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल हेलेक्पाथाली क्षेत्रमा पुगेका थिए।

सो स्थानमा पहिरोले सडक अवरुद्ध गरेपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा माथिबाट आएको अर्को पहिरोमा उनीहरू परेका थिए।

स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले चार महिनाकी एलिनालाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *