`

धन्नले ज्यान जाेगाए चालकले, ट्रक बगायाे खाेलाले

Nepal One HD २९ असार २०८३ १०:२२
समाज

मकवानपुर । मकवानपुरको कर्रा खोलामा सोमबार बिहान आएको आकस्मिक बाढीले गुडिरहेको ट्रक बगाएको छ।

ट्रक खोलाले बगाए पनि चालक भने पौडिएर सकुशल ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) तर्ने क्रममा एक्कासि कर्रा खोलामा पानीको बहाव बढेपछि बाढीले ट्रक बगाएको हो।

मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार ट्रक बग्न थालेपछि चालक चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ३४ वर्षीय दीपक थिङले तत्काल ट्रकबाट हाम फालेर पौडिँदै आफ्नो ज्यान जोगाएका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई चौघडास्थित राजु मेडिकलमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *