`

टाेपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राईलाई सजाय ताेकिँदै

Nepal One HD २९ असार २०८३ ११:२०
बिशेष

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई मुख्य कसुरदार ठहर गरेको थियो।

त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहित अन्य केही प्रतिवादीलाई मतियारका रूपमा दोषी ठहर गरिएको थियो।

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार अदालतले आज सजाय निर्धारणका लागि पेसी तोकेको हो।

अदालतले जिल्ला सरकारी वकिल कार्यालय तथा प्रतिवादी पक्षका कानुन व्यवसायीलाई सजायपूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न निर्देशनसमेत दिएको छ।

आजको सुनुवाइपछि दोषी ठहर भएका प्रतिवादीहरूले पाउने कैद तथा जरिवानाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *