`

मिडिया हाउसअगाडि राखिएका गाडी जफत गर्नुपर्ने नेकपा सांसद मल्लको माग

Nepal One HD ३० असार २०८३ ११:४०
बिशेष

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले सञ्चारमाध्यमका कार्यालय र राजनीतिक नेताको घरअगाडि शंकास्पद रूपमा राखिएका गाडी जफत गरी संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युको घटनालाई अन्यत्र मोड्न योजनाबद्ध रूपमा यस्ता गतिविधि गरिएको आरोप लगाए। उनले यसमा ‘राज्यसंरक्षित व्यक्तिहरू’को संलग्नता रहेको दाबी पनि गरे।

‘गणेश नेपालीको घटनालाई तोडमोड गर्न होइन, उहाँको कदमलाई गलत सावित गर्न राजधानीमा हिजो–अस्ति जुन गतिविधि गरियो, त्यो अत्यन्त गम्भीर विषय हो,’ उनले संसद्मा भने।

मल्लले आइतबार न्युरोड क्षेत्रमा नियोजित रूपमा सवारी जाम गराएर सर्वसाधारणलाई सास्ती दिइएको आरोपसमेत लगाए। त्यसको भोलिपल्ट विभिन्न सञ्चारमाध्यमका कार्यालय र नेपाली कांग्रेसका नेता गगन थापाको घरअगाडि गाडी राखिएको घटनाले थप आशंका जन्माएको उनको भनाइ थियो।

उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई सामान्य ५०० रुपैयाँ जरिबाना गरेर छाड्नु पर्याप्त नहुने बताए। ‘राज्यसंरक्षित केही व्यक्तिबाट नै यस्तो गतिविधि भयो। ५०० रुपैयाँको चिट काटेर घर पठाउने होइन, लाखौँ रुपैयाँ जरिबाना तिराउनुपर्छ, गाडी जफत गर्नुपर्छ र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले माग गरे।

पछिल्ला घटनाक्रमले लोकतान्त्रिक अभ्यास, प्रेस स्वतन्त्रता र सार्वजनिक सुरक्षामाथि प्रश्न उठाएको भन्दै उनले सरकारले यस्ता गतिविधिप्रति गम्भीर भएर आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *