बालेनलाई कटाक्ष गर्दै आरेन राईले भने – ‘ढुंगा बोल्ला, मान्छे बोल्दैन’
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आफूले पटक–पटक माग गरे पनि कुनै सुनुवाइ नभएको बताए।
‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो। तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ,’ उनले भने।
राईले काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको अभिव्यक्तिको प्रसंग पनि उठाए। उनले कोटेश्वरमा श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले जाँच गरेपछि ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति आएको स्मरण गराउँदै त्यसपछिका घटनाक्रमलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताए।
उनले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख संरचनामा भएको आगजनीको घटनासमेत उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
‘यदि प्रधानमन्त्रीको त्यो अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको हो भने उहाँ सदनमा आएर आफ्नो भनाइ फिर्ता लिनुपर्छ,’ राईले माग गरे।
सांसद राईले वर्तमान सरकारले गरिब, श्रमिक र विपन्न नागरिकको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसविपरीत काम गरिरहेको आरोप लगाए। उनले पठाओ राइडर, सुकुम्बासी, श्रमिक नागरिक तथा साना उद्यमीमाथि सरकारले अनावश्यक दबाब सिर्जना गरिरहेको दाबी गरे।
‘गरिबमाथि सरकारले धारे हात लगाएर निमोठ्न सुरु गरेको छ। सरकारले यस्तो काम तत्काल बन्द गर्नुपर्छ,’ उनले भने।
त्यसैगरी, उनले लामो समयदेखि सरकारी निकायमा न्यून सुविधा लिएर काम गरिरहेका करार तथा ज्यालादारी कर्मचारीलाई ठेकेदारमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको आरोप लगाए।
सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै राईले आदेशको पूर्ण कार्यान्वयन गर्न आग्रह गरे।
