‘भीरमा अड्किएकाको उद्धार माग्नु राजनीतिकरण होइन’
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कर्णालीमा भएको दुर्घटनाका घाइतेको उद्धार गर्न सरकारलाई आग्रह गर्नु राजनीतिकरण नभएको बताएका छन्। गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले संसद्मै सरकारको आलोचना गरेका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले कर्णालीको भीरमा अड्किएका घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाउन आग्रह गर्नु स्वाभाविक मानवीय माग भएको बताए। त्यसलाई राजनीतिकरण भन्न नमिल्ने उनको भनाइ थियो।
‘भीरमा अड्किएका घाइतेको उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने।
शाहीले विगतका राजनीतिक गतिविधि स्मरण गराउँदै संसद् भवनमा आगजनी गर्नेहरू पछि त्यही संसद्को चुनाव लड्न आएको टिप्पणी गरे।
‘संसद् भवन चाहिँदैन भनेर आगो लगाउने, पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने।
उनले सत्ता बाहिर हुँदा नेताको सुविधा, तलब र सुरक्षामा विरोध गर्ने तर सत्तामा पुगेपछि त्यही सुविधा उपयोग गर्ने प्रवृत्तिमाथि पनि कटाक्ष गरे।
‘आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, गाडी र सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ,’ उनले टिप्पणी गरे।
शाहीले पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गरिएको घटनालाई पनि राजनीतिकरणको उदाहरणका रूपमा उल्लेख गरे। साथै, कर्णाली दुर्घटनामा घाइतेको उद्धारका लागि हेलिकोप्टर नपठाउने, फोन नउठाउने र पछि संसद्मा आएर भावुक बन्ने शैलीप्रति पनि उनले असन्तुष्टि जनाए।
‘भीरमा अड्किएका घाइतेको उद्धार गर्न हेलिकोप्टर नपठाउने, फोन नउठाउने अनि संसद्मा आएर रोएको नाटक गर्नु नै राजनीतिकरण हो,’ उनले भने।
गत शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीको मृत्यु र कर्णाली नदीमा गाडी खसेको घटनालाई केही पक्षले राजनीतिकरण गरेको बताएका थिए। सोही अभिव्यक्तिको जवाफ दिँदै शाहीले सरकारलाई आफ्नो जिम्मेवारीबाट नभाग्न आग्रह गरे।
