अमरेश कुमार सिंहले सदनमा भने, ‘राज्य संकटमा छ’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई राष्ट्रिय हितका मुद्दामा एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मुलुकमा राज्यप्रति विश्वास घट्दै गएको र जनतामा निराशा बढिरहेको उल्लेख गर्दै दलहरूबीच सहकार्य र साझा राष्ट्रिय एजेन्डा आवश्यक रहेको बताए।
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा रहेका सबै दललाई राष्ट्रिय मुद्दामा एक ठाउँमा ल्याउने पहल गर्न आग्रह गरे। उनका अनुसार राजनीतिक मतभिन्नताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अघि बढ्नु अहिलेको आवश्यकता हो।
‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं। हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ सांसद सिंहले भने।
उनले राज्य र जनता सुरक्षित रहे मात्र राजनीतिक दल र नेताहरूले राजनीति गर्न पाउने उल्लेख गर्दै लोकतन्त्र र जनहित कमजोर हुने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरे। साथै, राष्ट्रिय एकता, राजनीतिक सहमति र जनविश्वास कायम राख्न सबै दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
