मिटरब्याज पीडितलाई भेट्न निजगढमा गृहमन्त्री, के हुँदैछ?
काठमाडौं। जनकपुरधामबाट काठमाडौंतर्फ पैदल मार्चमा रहेका मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्। पीडितहरूले आफ्ना ६ बुँदे माग गृहमन्त्रीसमक्ष बुझाउँदै तत्काल समाधानको पहल गर्न आग्रह गरेका छन्।
गृहमन्त्री आउने जानकारी पाएपछि पीडितहरू मंगलबार बिहान निजगढमै रोकिएका थिए। उद्योग वाणिज्य संघ निजगढको सभाहलमा भएको छलफलमा गृहमन्त्रीले उनीहरूका माग र समस्याबारे प्रत्यक्ष जानकारी लिएका थिए।
आन्दोलनमा सहभागी जेनजी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार पीडितहरूले बुझाएको मागपत्र गृहमन्त्रीले प्रधानमन्त्री कार्यालयमा पठाइसकेका छन्। उनले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवहरूको उच्चस्तरीय बैठक बसेको र त्यसबाट आउने निर्णयअनुसार पुनः गृहमन्त्रीसँग वार्ता हुने जानकारी दिइन्।
‘हामीले आफ्ना ६ बुँदे माग गृहमन्त्रीज्यूलाई बुझायौं। उहाँले मागपत्र प्रधानमन्त्री कार्यालयमा पठाउनुभएको छ। अहिले प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको छ। त्यसको निर्णय आएपछि पुनः वार्ता हुनेछ,’ घिमिरेले बताइन्।
मिटरब्याज पीडितहरूले ६ दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट तमसुक जलाउँदै काठमाडौं केन्द्रित पैदल यात्रा सुरु गरेका हुन्। उनीहरूले तमसुक प्रणाली पूर्ण रूपमा खारेज गर्न, मिटरब्याज पीडितको संरक्षणका लागि विशेष कानुन बनाउन, मिटरब्याजका कारण गुमेको चल–अचल सम्पत्ति फिर्ता गराउन तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
गृहमन्त्री गुरुङले पीडितका माग सम्बोधनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए पनि वार्ताबाट कुनै औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।
