ट्रक साहित्य उद्धृत गर्दै रीमाले भनिन् – ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रीमा विश्वकर्माले आफ्नै पार्टी नेतृत्वको सरकारलाई कानुन निर्माण र नीति कार्यान्वयनमा हतार नगर्न सचेत गराएकी छन्।
पछिल्लो समय बढिरहेका आत्मदाहका घटनाले नागरिकको मानसिक स्वास्थ्य र सरकारको नीति कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै विश्वकर्माले सरकारले सुधारको गति तीव्र बनाउने प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव नागरिकमाथि कस्तो परिरहेको छ भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताइन्।
‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन ? जसका लागि कानुन बनाइरहेका छौँ, कतै उनीहरू नै मारमा परिरहेका छैनन् ?’ उनले प्रश्न गरिन्।
आत्मदाह प्रयासका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिकले आफ्ना पीडा र न्यायका माग राख्न जीवन समाप्त गर्ने निर्णयसम्म पुग्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक शासनका लागि गम्भीर संकेत भएको बताइन्।
‘के साँच्चै नागरिकले आफ्नो पीडा सुनाउन र न्याय माग्न यति ठूलो आत्मघाती निर्णय गर्नुपर्ने हो ?’ उनले भनिन्।
सरकारलाई सन्देश दिँदै विश्वकर्माले चर्चित ट्रक साहित्य उद्धृत गरिन्।
‘एक्सप्रेस–वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई एउटा ट्रक साहित्य सुनाउन चाहन्छु— “हतार गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ।”’
उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि समान रूपमा महत्व दिनुपर्ने धारणा राखिन्।राजनीतिक सुधारसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नु पनि सरकारको दायित्व भएको उल्लेख गर्दै मानसिक स्वास्थ्य, नागरिकको विश्वास र न्यायमा पहुँचलाई नीति निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
