`

विपद् पूर्वतयारी नगरिए पूर्वी पहाडमा गम्भीर संकट निम्तिने सुब्बाकाे चेतावनी

Nepal One HD ३० असार २०८३ १५:४१
नेकपा एमाले

काठमाडाैं । नेकपा एमालेकी सांसद भूमिका सुब्बाले वर्षायाम सुरु भएसँगै हरेक वर्ष सडक अवरुद्ध हुने समस्या दोहोरिए पनि सरकार विपद् पूर्वतयारीमा गम्भीर नदेखिएकाे बताएकी छन् ।

प्रतिनिधिसभा बैठकमा मङ्‍गलबार बोल्दै उनले वर्षेनी सडक अवरुद्ध हुँदा खाद्यान्‍न, औषधि तथा अत्यावश्यक सेवाको आपूर्ति ठप्प हुने अवस्था आउने गरेको स्मरण गराउँदै यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि कुनै प्रभावकारी तयारी नदेखिएको बताइन्।

उनले भनिन्, ‘मैले यो सम्मानित सदनमार्फत विपद्को पूर्वतयारीबारे पटकपटक सरकारको ध्यानाकर्षण गरेको छु। तर, दुःखको कुरा आजसम्म सरकारको तयारी कहीँकतै देखिएको छैन। बरु सरकार यहीँ लापरबाही गर्दै पीडक बनेको छ।’

सुब्बाले यस वर्ष पनि मेची राजमार्ग र वैकल्पिक मार्ग तमोर करिडोर अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकको जनजीवन प्रभावित हुने गम्भीर जोखिम रहेको उल्लेख गरिन्।

हरेक वर्ष दोहोरिने समस्यालाई नयाँ विपत्तिजस्तो व्यवहार गर्नु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।

उनले सम्भावित थप विपत्तिले ठूलो संकट निम्त्याउनुअघि नै वैकल्पिक सडक सञ्‍चालन, अत्यावश्यक निर्माण सामग्रीको निर्वाध आपूर्ति, स्वास्थ्य सेवा, उद्धार तथा राहतका काम युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *