मिटरब्याज पिडित र गृहमन्त्रीबीच दोस्रो चरणको वार्ता सम्पन्न
काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुर आन्दोलनरत पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। वार्तामा प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता पुनः गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत पक्षबीच गर्ने सहमति भएको छ।
बाराको निजगढमा भएको छलफलमा आन्दोलनरत पक्षले मिटरब्याज समस्यासम्बन्धी आफ्ना ६ बुँदे माग पुनः सरकारसमक्ष प्रस्तुत गरेको थियो। दुवै पक्षले आ-आफ्नो तर्फबाट आवश्यक गृहकार्य गर्ने र प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्षका आधारमा अर्को चरणको वार्ता अघि बढाउने निर्णय गरेका छन्।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययनका लागि यसअघि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन्। सार्वजनिक गरिने प्रतिवेदनमा गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन रहेका छन्।
आन्दोलनरत पक्षका अनुसार प्रधानमन्त्री कार्यालयमा मिटरब्याज समस्याबारे उच्चस्तरीय छलफल जारी रहेकाले त्यसको निष्कर्ष प्राप्त भएपछि पुनः गृहमन्त्रीसँग तेस्रो चरणको वार्ता बस्नेछ।
मिटरब्याज पीडितहरूले तमसुक प्रणाली खारेज, पीडितको संरक्षणका लागि विशेष कानुन निर्माण, मिटरब्याजका कारण गुमेको चल-अचल सम्पत्ति फिर्ता तथा दोषीमाथि कडा कानुनी कारबाहीलगायत ६ बुँदे माग राख्दै जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल मार्च सञ्चालन गरिरहेका छन्।
