`

मानवअधिकार आयोग गुहार्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी[तस्वीरहरु]

Nepal One HD ३० असार २०८३ १५:५४
फोटोफिचर

काठमाडौं। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका प्रतिनिधिहरूले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर आफ्नो मानवअधिकार संरक्षण र स्थायी पुनःस्थापनाको माग गर्दै अपिलपत्र बुझाएका छन्।

मंगलबार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तपबहादुर मगरलाई उनको कार्यकक्षमा भेट गरी अपिलपत्र हस्तान्तरण गरेको हो। उक्त भेटमा आयोगका अन्य सदस्यहरू तथा सदस्य–सचिवसमेत उपस्थित थिए।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले भोगिरहेका समस्या, राहत वितरणमा भएको विभेद, सम्मानजनक आवासको अभाव तथा संविधानले प्रत्याभूत गरेको आवास र मानवअधिकारको संरक्षण सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण गराएको छ।

उनीहरूले आयोगसँग होल्डिङ सेन्टरको तत्काल स्थलगत अनुगमन गर्न, सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन तथा पीडित परिवारको भूस्वामित्वसहित स्थायी पुनःस्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीका अनुसार आयोगका अध्यक्ष तपबहादुर मगरले यसअघि पनि आयोगले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका अधिकार संरक्षणका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्दै आएको बताएका थिए।

अध्यक्ष मगरले प्रतिनिधिमण्डलबाट प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित सरकारी निकायलाई आवश्यक सुझाव तथा सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि संयोजक कामीले जानकारी दिए।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले लामो समयदेखि सुरक्षित आवास, भूस्वामित्वको अधिकार र सम्मानजनक पुनःस्थापनाको माग गर्दै विभिन्न निकायमा आवाज उठाउँदै आएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *