एक सातामा चार आत्मदाहका प्रयास: बढ्दो मानसिक र सामाजिक संकटको संकेत
काडमाडाैं। नेपालमा पछिल्लो एक साताभित्र मात्रै चार जनाले आत्मदाहको प्रयास गरेका छन्। तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ भने एक जना उपचाररत छन्। लगातार यस्ता घटना दोहोरिनुले व्यक्तिगत पीडामात्र होइन, समाजमा गहिरिँदै गएको मानसिक, आर्थिक र सामाजिक संकटलाई पनि उजागर गर्छ।
राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयासको शृंखला रौतहटसम्म पुगेको छ । नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भयो।
त्यसपछि एकै दिन काठमाडौंको बुद्धनगर निवासी व्यवसायी अश्विन रावत र सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरे। दुवैको उपचारका क्रममा मृत्यु भयो। रावत व्यवसायिक तनावमा थिए भने एमएस्सी उत्तीर्ण मण्डल लामो समयदेखि बेरोजगार रहेका कारण मानसिक तनावमा थिए।
यही शृंखलामा बुधबार रौतहटको गरुडा नगरपालिका-९ का २८ वर्षीय गौतमकुमार सहनी थपिए। उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। उनी हाल उपचाररत छन्।
लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य नेपालमा गम्भीर सार्वजनिक सरोकारको विषय बन्दै गएको देखिछ। बेरोजगारी, आर्थिक असुरक्षा, व्यवसायिक दबाब, सामाजिक अपेक्षा तथा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावले धेरै मानिसलाई चरम निराशातर्फ धकेलिरहेको छ। बेरोजगारी, बढ्दो आर्थिक दबाब र भविष्यप्रतिको अनिश्चितताले विशेषगरी युवाहरूलाई बढी प्रभावित गरिरहेको छ।
एक साताभित्र भएका यी घटनाले केवल व्यक्तिगत निर्णय मात्र सुनाउँदैनन्, बरु राज्य प्रणालीको गम्भीर असफलाताको पनि उजागर गर्छन्। मानसिक स्वास्थ्यलाई स्वास्थ्य नीतिको प्राथमिकतामा राख्दै तत्काल समयमै परामर्श, उपचार र सामाजिक सहयोगको पहुँच विस्तार गर्न नसके यो समस्या अझै भयावह बन्न सक्छ।
