करार कर्मचारीको सिंहदरबारमा धर्ना
काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले बुधबार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिएका छन्।
आन्दोलनरत कर्मचारीहरूले सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी जोखिममा पर्ने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरूले वर्षौंदेखि विभिन्न मन्त्रालयमा निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा कर्मचारीहरूले रोजगारीको सुरक्षा, श्रम अधिकारको संरक्षण तथा करार सेवामा कार्यरत कर्मचारीप्रति न्यायोचित नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
करार कर्मचारीहरूले आफ्ना मागको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।













