एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकारहरूमा एमालेसँगको सम्बन्ध थप जटिल बन्दै गएपछि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको स्रोतले जनाएको छ।
पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच पछिल्ला दिनमा निरन्तर छलफल भए पनि प्रदेश सरकार सञ्चालन, बजेट तथा राजनीतिक समन्वयलगायत विषयमा सहमति जुट्न सकेको छैन। त्यसपछि कांग्रेसले प्रदेश तहमा एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पुगेको बताइएको छ।
यस निर्णयअनुसार कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई क्रमशः फिर्ता बोलाउने तयारी गरेको छ। यसले प्रदेश सरकारहरूको राजनीतिक समीकरणमा व्यापक फेरबदल आउने सम्भावना देखिएको छ।
यद्यपि, कांग्रेसले यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। पार्टीका शीर्ष तहमा अन्तिम गृहकार्य भइरहेको र छिट्टै आधिकारिक निर्णय सार्वजनिक हुने स्रोतको भनाइ छ।
