`

कोशी प्रदेश सरकारबाट पनि बाहिरिँदै कांग्रेस

Nepal One HD ३२ असार २०८३ १३:३०
बिशेष

काठमाडौं। केन्द्रको निर्णयअनुसार नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा उत्पन्न विवादपछि कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि सत्ता समीकरण बदलिने भएको हो।

कांग्रेसका चार मन्त्रीले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। यसबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरू सरकारमा छन्। पार्टीको निर्णयपछि उनीहरूले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका हुन्।

कोशी प्रदेशमा विगतदेखि कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको भए पनि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत भएका छन्।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशको सत्ता समीकरण फेरिने निश्चित भएको छ। अब एमालेले नयाँ गठबन्धन बनाएर सरकारलाई निरन्तरता दिन्छ वा नयाँ राजनीतिक समीकरण बन्छ भन्ने विषय आगामी दलगत छलफल र प्रदेशसभाको अंकगणितमा निर्भर रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *