४ हजार साइकलयात्रीको सहभागितामा काठमाडौं कोरा च्यालेन्ज २०२६ सम्पन्न
काठमाडौं। नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौं कोरा च्यालेन्ज २०२६ शनिबार उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए। राजधानीका विभिन्न सडक र सांस्कृतिक सम्पदा क्षेत्र हुँदै सञ्चालन गरिएको यस अभियानले शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली तथा दिगो यातायातप्रति जनचेतना फैलाउने उद्देश्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।
हरेक वर्ष आयोजना हुँदै आएको कोरा च्यालेन्ज नेपालमा साइकल संस्कृतिको विस्तार गर्ने प्रमुख अभियानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्ष पनि विभिन्न उमेर समूह, पेशा र पृष्ठभूमिका सहभागीहरू एउटै उद्देश्यका साथ साइकल यात्रामा निस्किएका थिए। अभियानमा अनुभवी साइकलयात्रीदेखि पहिलो पटक सहभागी बनेकाहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको थियो।
यस वर्ष सहभागीहरूले आफ्नो क्षमता र रुचिअनुसार ५०, ७५, १०० तथा १६५ किलोमिटरका चार फरक-फरक रुट रोजेका थिए। निर्धारित दूरी पूरा गरेपछि सबै सहभागीहरूले नगबहाल पुगेर आफ्नो यात्रा सम्पन्न गरेका थिए। लामो दूरीको यात्रामा सुरक्षा व्यवस्थापन, स्वास्थ्य सहायता तथा स्वयंसेवकहरूको सक्रिय परिचालन गरिएको थियो।
आयोजकका अनुसार काठमाडौं कोरा च्यालेन्ज केवल साइकल यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो। अभियानबाट संकलित सहयोग शिक्षा क्षेत्रमा खर्च गरिने, वातावरण संरक्षणका गतिविधिलाई प्रोत्साहन गरिने तथा दैनिक जीवनमा साइकलको प्रयोग बढाएर प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमको समापन समारोहमा निर्धारित दूरी सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई पदक प्रदान गरिएको थियो। त्यससँगै सांस्कृतिक प्रस्तुति, सामुदायिक भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रमले समापन समारोहलाई थप आकर्षक बनाएको थियो। बालबालिकालाई पनि साइकल संस्कृतिसँग जोड्ने उद्देश्यले ‘किड्स कोरा’ आयोजना गरिएको थियो, जहाँ साना बालबालिकाले सुरक्षित वातावरणमा साइकल चलाउँदै अभियानमा सहभागिता जनाएका थिए।
काठमाडौंमा बढ्दो सवारी चाप, वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी चुनौतीबीच कोरा च्यालेन्जले दिगो यातायातको विकल्पका रूपमा साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ। समुदाय, स्वयंसेवक, निजी क्षेत्र र विभिन्न संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएको यो अभियानले हरेक वर्ष हजारौं मानिसलाई एउटै मञ्चमा जोड्दै सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरिरहेको छ।
आयोजकले आगामी वर्षहरूमा अभियानलाई अझ व्यापक बनाउने तथा देशका अन्य शहरहरूमा पनि यस्ता सामुदायिक साइकलिङ कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। करिब चार हजार सहभागीको उपस्थितिले काठमाडौं कोरा च्यालेन्ज २०२६ नेपालमा सामुदायिक खेलकुद र सामाजिक अभियानलाई एकसाथ जोड्ने सफल उदाहरणका रूपमा पुनः स्थापित भएको छ।
