`

बागमतीको जलसतह घट्दो, तत्काल बाढीको जोखिम टर्‍यो

Nepal One HD ३ साउन २०८३ २०:४८
प्रमुख खबर

काठमाडौं । बागमती नदीको जलसतह आइतबार अपराह्न केही समय सतर्कता तहभन्दा माथि पुगे पनि अहिले बहाव घट्दो क्रममा रहेकाले तत्काल बाढीको जोखिम टरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अपराह्न गौरीघाट मापन केन्द्रमा बागमती नदीको जलसतह २.४१ मिटर पुगेको थियो, जुन २.१ मिटरको सतर्कता तहभन्दा माथि हो। त्यसपछि नदीको बहाव क्रमशः घट्न थालेको विभागले जानकारी दिएको छ।

विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार नदीको पानीको सतह घटिरहेको हुँदा अहिले आत्तिनुपर्ने अवस्था छैन। यद्यपि मौसमको अवस्थालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दाले आवश्यक सतर्कता भने अपनाइरहनुपर्ने उनले बताइन्।

विभागका अनुसार बागमती नदीको जलसतह २.७ मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ। त्यसैले नदी किनार, डुबानको जोखिम रहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न विभागले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *