कच्चा तेल एक महिनायताकै महँगो
काठमाडौं। अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले अन्तरराष्ट्रिय वित्तीय बजारमा असर देखिन थालेको छ।
मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ भने एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ।
विशेषगरी विश्वको समुद्री मार्गबाट हुने कच्चा तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने हर्मुज जलमार्ग प्रभावित हुन सक्ने आशंकाले तेल बजारमा दबाब बढेको विश्लेषण गरिएको छ। पछिल्ला दिनहरूमा अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप आक्रमण गरेको र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार मुलुकका सैन्य संरचनालाई लक्षित गरेको विवरण सार्वजनिक भएपछि लगानीकर्ताको चिन्ता बढेको हो।
यसैबीच, अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै पछिल्लो एक महिनायताकै उच्च बिन्दुमा पुगेको बताइएको छ।
बजार विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको तीव्र वृद्धिले विश्वव्यापी मुद्रास्फीति फेरि बढ्ने जोखिम बढाएको छ। यदि मूल्य लामो समयसम्म उच्च रह्यो भने केन्द्रीय बैंकहरूको ब्याजदर सम्बन्धी नीति, उपभोक्ताको खर्च र आर्थिक वृद्धिमा समेत दबाब पर्न सक्ने आकलन गरिएको छ।
यद्यपि केही विश्लेषकहरूले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति क्रमशः घट्दै गएको र श्रम बजार पनि केही नरम बन्दै गएकाले तत्काल व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना भने सीमित रहेको बताएका छन्।
तेल बजारमा उतारचढाव भइरहेका बेला एसियाली सेयर बजारमा भने मिश्रित अवस्था देखिएको छ। चीनले अर्थतन्त्रलाई थप चलायमान बनाउन नयाँ प्रोत्साहन कार्यक्रम ल्याउने अपेक्षाले हङकङ र साङ्घाईका सेयर सूचकमा वृद्धि भएको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि हरियाली देखिएका छन्।
तर अमेरिकी बजारमा आएको गिरावटको प्रभाव सियोल, सिड्नी र वेलिङ्टनका बजारमा परेको छ, जहाँ लगानीकर्ताले सतर्क रणनीति अपनाएको देखिएको छ।
भू–राजनीतिक तनावका बीच सुरक्षित लगानी मानिने सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य भने केही बढेको अन्तरराष्ट्रिय बजारको तथ्यांकले देखाएको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वको अवस्था थप जटिल बनेमा ऊर्जा, वित्तीय तथा वस्तु बजारमा अझ ठूलो उतारचढाव आउन सक्ने सम्भावना रहेको छ।
