शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू अन्ततः सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि उनीहरू सम्पर्कविहीन भएको खुलेको छ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब १२ः१५ बजे महिलाहरू आफैं घरपरिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलभित्र च्याउ खोज्ने क्रममा बाटो बिर्सिँदा बाहिर निस्कन नसकेको बताएका छन्।
महिलाहरू सकुशल सम्पर्कमा आएपछि उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटा पुगेको छ।
उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका थिए। त्यसपछि लामो समयसम्म सम्पर्क हुन नसकेपछि खोजी अभियान सञ्चालन गरिएको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन महिलाहरू सकुशल परिवारको सम्पर्कमा आएको पुष्टि गर्दै सबैको अवस्था सामान्य रहेको जानकारी दिए।
यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाँडी गाउँपालिका-२ का तीन महिलालाई नेपाली सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले निकुञ्जभित्रबाट फेला पारेर सोमबार बिहान सकुशल उद्धार गरेको थियो। उनीहरूलाई आवश्यक स्वास्थ्य अवस्था बुझिसकेपछि परिवारको जिम्मा लगाइएको छ।
निकुञ्जभित्र अनुमति बिना च्याउ टिप्न गएका तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। खोजी अभियानपछि सबै महिलाहरू सुरक्षित अवस्थामा फेला परेका छन्।
