नामीबियाविरुद्द नेपालको फितलो प्रदर्शन, ८ विकेटले पराजित
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। मंगलबार भएको खेलमा घरेलु टोली नामिबियाले नेपाललाई ८ विकेटले पराजित गर्दै सहज जित निकालेको हो।
नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो। सुरुदेखि नै खेलमा पकड बनाएको नामिबियाले लक्ष्य पछ्याउने क्रममा नेपाली बलिङ आक्रमणलाई प्रभावहीन बनाउँदै महत्वपूर्ण दुई अंक आफ्नो पक्षमा पार्न सफल भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। नियमित अन्तरालमा विकेट गुमाएका कारण नेपाली ब्याटिङले ठूलो योगफल बनाउन सकेन।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए। गुलशन झाले २०, करण केसीले १८ तथा आसिफ शेखले १६ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल सानो लक्ष्यमा सीमित हुन पुग्यो।
नामिबियाका बलर जेजे स्मित नेपालका लागि सबैभन्दा घातक सावित भए। उनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारे। त्यस्तै ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले समान दुई–दुई विकेट लिएर नेपाली इनिङ्सलाई दबाबमा राखे।
यस जितसँगै नामिबियाले लिग–२ अंक तालिकामा २९ खेलबाट २४ अंक पुर्याएको छ। नेपालको पनि २९ खेलबाट २४ अंक नै रहेकाले दुवै टोली बराबरी अंकमा रहेका छन्।
नेपालले अब सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। पहिलो खेलको हारपछि नेपाल आगामी खेलमा पुनरागमन गर्दै महत्वपूर्ण अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
