`

तेक्वान्दो च्याम्पियनसिपपछि आयव्यय सार्वजनिक, ३ लाख ६४ हजार बचत

Nepal One HD ९ साउन २०८३ १२:२२
खेलकुद

पाँचथर। नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति पाँचथरले आयोजना गरेको ‘प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८३’ को आय–व्यय सार्वजनिक गरेको छ ।

अध्यक्ष सन्तोष श्रेष्ठले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट कुल ८ लाख १० हजार ३३७ रुपैयाँ आम्दानी भएको थियो । त्यसमध्ये ४ लाख ४६ हजार १८२ खर्च भएको छ । ३ लाख ६४ हजार १५५ रुपैयाँ भने बचत भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत असार ६ र ७ गते फिदिम बजारस्थित ब्याडमिन्टन कभर्ड हलमा आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला गरी विभिन्न तौल समूह र पुम्से विधामा ११० खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको मुख्य प्रवद्र्धक फिदिम नगरपालिका रहेको थियो ।

नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको थियो । फालेलुङ गाउँपालिकाले ३२ हजार रुपैयाँ र याङ्वरक गाउँपालिकाबाट १५ हजार रुपैयाँ सहयोग गरेका थिए । यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाबाट ५ लाख ६३ हजार हजार ३३७ रुपैयाँ सहयोग संकलन भएको संघले जनाएको छ ।

खर्चतर्फ होटल व्यवस्थापनमा सबैभन्दा बढी १ लाख २ हजार ७२७ रुपैयाँ खर्च भएको छ । पुरस्कार, ट्रफी र मेडलमा ९७ हजार २५० रुपैयाँ, छपाई र स्टेशनरीमा ८८ हजार २५५ रुपैयाँ, खेल सामग्री खरिदमा ५६ हजार ५००, निर्णायकलाई पारिश्रमिक ५० हजार ८००, साउण्ड सिस्टममा २५ हजार, यातायात खर्चमा १७ हजार ६५० रुपैयाँ, प्रचारप्रसार ५ हजार तथा पानीमा ३ हजार रुपैयाँ खर्च भएको सार्वजनिक आयव्ययमा उल्लेख छ ।

संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय तह, विभिन्न सरकारी तथा निजी संस्था, देश–विदेशमा रहेका सहयोगी, खेलप्रेमी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको संघ अध्यक्ष श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *