फिल्म क्षेत्रमा छिरे रोनाल्डो
काठमाडौं । विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अब मनोरञ्जन क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्ने भएका छन्।
साउदी क्लब अल-नासरका कप्तान ४१ वर्षीय रोनाल्डोले ‘डे वानएस’ नामक नयाँ फुटबल ड्रामा सिरिजमार्फत हलिउड र टेलिभिजन दुनियाँमा डेब्यु गर्न लागेका हुन्।
रोनाल्डो यस सिरिजमा अभिनय गर्नुका साथै कार्यकारी निर्माताको भूमिकामा पनि रहनेछन्। यो परियोजना रोनाल्डो र चर्चित फिल्म निर्देशक म्याथ्यु भनको संयुक्त निर्माण कम्पनीको पहिलो टेलिभिजन प्रोजेक्ट हो।
खेलकुद एजेन्ट ड्यारेन डेइनको अवधारणामा आधारित सिरिजले आधुनिक फुटबलको पर्दापछाडिको शक्ति संघर्ष, रणनीति र प्रतिस्पर्धाको कथा प्रस्तुत गर्नेछ।
सिरिजमा डामियन लुइसले ‘स्टेनली डाल्टन’ नामक फुटबल एजेन्टको मुख्य भूमिका निर्वाह गर्नेछन्। साथै फ्रान्सेली फुटबल लिजेन्ड थियरी हेनरी, बेलायती र्यापर डेभ र अभिनेत्री कार्लोटा बनाट पनि प्रमुख भूमिकामा देखिनेछन्।
आफ्नो नयाँ यात्राबारे रोनाल्डोले यो आफ्नो जीवनको नयाँ र रोमाञ्चक अध्याय भएको बताएका छन्।
उत्तर-पश्चिम लन्डनस्थित बार्नेट एफसीको रंगशालामा छायांकन भइरहेको यो सिरिज आधुनिक फुटबल उद्योगको वास्तविकता प्रस्तुत गर्ने ड्रामाका रूपमा निर्माण भइरहेको जनाइएको छ।
