मान्चिनी दोस्रोपटक इटालीको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं। रोबर्टो मान्चिनी दोस्रोपटक इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
इटाली फुटबल फेडेरेसन (एफआईजिसी)ले उनलाई आगामी युरोपियन च्याम्पियनसिपको तयारीका लागि टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।
मान्चिनीले गेनारो गाटुसोको स्थान लिएका हुन्। इटाली विश्वकपका लागि छनोट हुन असफल भएपछि गाटुसोले गत अप्रिलमा पदबाट राजीनामा दिएका थिए। इटाली युरोपेली छनोटको प्लेअफमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो।
यसअघि मान्चिनीको नेतृत्वमा इटालीले सन् २०२१ मा युरोपियन च्याम्पियनसिप (युरो) को उपाधि जितेको थियो। वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रोपटक युरोको ट्रफी उचालेको थियो।
अनुभवी प्रशिक्षक मान्चिनीले साउदी अरेबियाको राष्ट्रिय टोलीका साथै म्यानचेस्टर सिटी, इन्टर मिलान, लाजियो, बोलोग्ना र गालातासारेजस्ता चर्चित क्लबको पनि प्रशिक्षण सम्हालिसकेका छन्।
यसैबीच, इटाली फुटबल फेडेरेसनले टोलीको टेक्निकल डाइरेक्टरको जिम्मेवारी अनुभवी प्रशिक्षक क्लाउडिओ रानिएरीलाई दिएको छ।
