विराटनगरमा शुक्रबार सद्भाव र्याली निकालिने
काठमाडौं । विराटनगरमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शुक्रबार सद्भाव र्याली आयोजना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सदियौँदेखि कायम रहँदै आएको हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने कुनै पनि गतिविधि निन्दनीय भएको निष्कर्ष निकालेको छ ।
पछिल्लो घटनाक्रमपछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षले संयमित भूमिका निर्वाह गर्नुपर्नेमा बैठकका सहभागीहरूले जोड दिएका थिए । शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा पनि उनीहरूले राखेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार सामाजिक तथा धार्मिक सद्भावको सन्देश प्रवाह गर्न शुक्रबार आयोजना हुने र्यालीमा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ ।
सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, धार्मिक संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा युवाहरूको सहभागिता थियो ।
बैठकमा सहभागीहरूले सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिदलगायतका धार्मिक तथा अन्य सार्वजनिक स्थानमा माइक र लाउडस्पिकर बाहिर बजाउन लगाएको निषेधात्मक व्यवस्थाको समेत स्वागत गरेका थिए ।
सहभागीहरूले धार्मिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै अफवाह, उत्तेजना र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका छन् ।
