`

राष्ट्र बैंकले २५ अर्ब निक्षेप उठाउँदै

Nepal One HD १५ साउन २०८३ १३:३४
अर्थ समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार आज अपराह्न ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल गर्न सकिनेछ। निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

सङ्कलित निक्षेपको साँवा तथा ब्याज २०८३ असोज १४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँका गुणाङ्कमा रकम प्रस्ताव गर्न सकिनेछ। यस प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोल गर्दा बैंक तथा वित्तीय संस्थाले निक्षेपका रूपमा जम्मा गर्न चाहेको रकम र त्यसका लागि प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकताका आधारमा स्वीकृत गर्ने जनाएको छ।

समान ब्याजदरमा आएका प्रस्तावहरूको कुल रकम राष्ट्र बैंकले आह्वान गरेको रकमभन्दा बढी भएमा उपलब्ध रकमलाई ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ।

केन्द्रीय बैंकका अनुसार आह्वान गरिएको २५ अर्ब रुपैयाँको सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिसँग रहनेछ।

राष्ट्र बैंकले निक्षेप सङ्कलनमार्फत बैंकिङ प्रणालीबाट खिचिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न नपाइने स्पष्ट पारेको छ। यद्यपि, प्रचलित व्यवस्थाअनुसार उक्त रकमलाई वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

निक्षेप सङ्कलन पनि प्रणालीबाट अतिरिक्त तरलता अस्थायी रूपमा खिच्ने प्रमुख उपकरणका रूपमा प्रयोग हुँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *