`

गृहमन्त्री गुरुङ र हिन्दू सम्राट सेनाबीच के भयो समझदारी ?

Nepal One HD १७ साउन २०८३ १३:०८
बिशेष

काठमाडौं। तराईका विभिन्न जिल्लामा देखिएको तनाव र आन्दोलनलाई शान्त पार्ने प्रयासस्वरूप गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच समझदारी भएको छ।

जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी टोली र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच वार्ता भएको थियो।

वार्ताका क्रममा हिन्दू सम्राट सेना नेपालले यसअघि सरकारसमक्ष पेश गरेको १३ बुँदे मागमा थप विषय समेटेर १९ बुँदे प्रस्ताव बुझाएको जनाएको छ। संगठनका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार सरकारले मागहरूलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति जनाएको छ।

माग कार्यान्वयनको प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारीसमेत भएको सनातनीले बताए।

वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्ने र उनीहरूमाथि मुद्दा नचलाउने विषयमा पनि समझदारी भएको बताइएको छ। त्यसैगरी, आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट गोली चलाइएको घटनाको छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्ने विषयमा समेत सरकारी पक्ष सकारात्मक भएको जनाइएको छ।

सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि हिन्दू सम्राट सेनाले आफ्ना सबै प्रकारका आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरकारलाई बुझाइएको १३ बुँदे मागपत्र तथा शनिबार थप बुझाइएको ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारका तर्फबाट ग्रहण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *