‘निम्सदाइ’को शव भेटियो
काठमाडौं। चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव पाकिस्तानको ब्रड पिकमा फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार करिब ५ हजार ७ सय मिटर उचाइमा स्थलमार्गबाट पुगेको उद्धार टोलीले तीन दिनपछि पुर्जाको शव फेला पारेको हो। बिहीबार हिमपहिरोपछि पुर्जा र उनको टोलीसँग सम्पर्कविच्छेद भएको थियो।
यसअघि अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको जनाएको थियो। आइतबारसम्म तीन पर्वतारोहीको शव उद्धार भइसकेको थियो भने थप शवहरू पनि फेला परेका थिए।
अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिअनुसार पुर्जाको शव भेटिएको स्थानमा थप तीन शवसमेत देखिएका छन्। ती शवको पहिचान भने अझै पुष्टि हुन बाँकी छ। उद्धार टोलीले पुर्जासहित फेला परेका शवलाई जापानी शिविरसम्म ल्याउने तयारी गरिरहेको छ।
अत्यन्त कठिन भौगोलिक अवस्थाबीच उद्धार कार्य अघि बढिरहेको क्लबले जनाएको छ। घटनास्थलबाट प्राप्त विवरण प्रारम्भिक रहेकाले थप आधिकारिक पुष्टि नहुँदासम्म अपुष्ट सूचना सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।
