`

गुन्डुमा कार्कीको अडान, ‘राजीनामा दिन्‍न’

Nepal One HD २० साउन २०८३ १०:४४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर विवाद चर्किँदै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खुला गर्न आग्रह गरे पनि कार्की आफ्नो अडानबाट पछि हटेका छैनन्।

मंगलबार साँझ भक्तपुरको गुण्डुमा ओली र कार्कीबीच करिब एक घण्टा छलफल भएको थियो। भेटमा ओलीले नयाँ राजनीतिक समीकरणअनुसार नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफूले राजीनामा दिए संवैधानिक जटिलता उत्पन्न हुने र त्यसले गलत राजनीतिक सन्देश जाने तर्क गर्दै पद नछोड्ने स्पष्ट बताएका थिए।

स्रोतका अनुसार छलफल निष्कर्षमा पुग्न सकेन। दुवै नेताले आफ्ना-आफ्ना धारणा दोहोर्याएपछि फेरि अर्को चरणको वार्ता गर्ने सहमति बनेको छ। यद्यपि त्यसको समय भने तय भइसकेको छैन।

यसअघि पनि अध्यक्ष ओलीले कार्कीलाई गुण्डु बोलाएर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए। तर त्यसबेला पनि कार्की आफ्नो निर्णयमा अडिग रहे। त्यसपछि पूर्वमुख्यमन्त्री शेरधन राईलाई विराटनगर पठाएर सहमतिमा ल्याउने प्रयास गरिएको थियो। राईको पहल पनि सफल हुन नसकेपछि अब प्रदेश सांसदहरूको हस्ताक्षर संकलन अभियान अघि बढाइएको बताइएको छ।

स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नै निवासमा प्रदेश सांसदहरूलाई बोलाएर पार्टीको निर्णय कार्यान्वयनका पक्षमा हस्ताक्षर गराइरहेका छन्। हस्ताक्षर अभियानमार्फत नेतृत्व परिवर्तनका लागि आवश्यक समर्थन जुटाउने प्रयास भइरहेको बुझिएको छ।

मुख्यमन्त्री परिवर्तनको अभियानमा पूर्वमुख्यमन्त्री राईलाई पराजुलीले सक्रिय साथ दिइरहेका छन्। यता कार्की भने आफू नेपालको संविधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएकाले आफ्नो राजीनामाले संवैधानिक अन्योल सिर्जना गर्न सक्ने र त्यसको राजनीतिक प्रभाव समेत सकारात्मक नहुने अडानमा कायम छन्। अहिले एमालेभित्रको यो विवादले कोशी प्रदेशको राजनीतिक समीकरण थप पेचिलो बन्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *