मातृभाषा पत्रकारिता लोकतन्त्रको पहुँच विस्तार गर्ने माध्यम हो : मन्त्री गौतम
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मातृभाषामा हुने पत्रकारिताले राज्य र नागरिकबीचको सूचनाको दूरी घटाउँदै लोकतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।
काठमाडौंमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका नीति, निर्णय र गतिविधिबारे हरेक नागरिकले आफ्नै मातृभाषामा जानकारी पाउने वातावरण लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताइन्।
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा आयोजित सम्मेलनमा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र सांस्कृतिक विविधता संरक्षणमा आदिवासी समुदायले पुर्याएको योगदानको चर्चा गर्दै भाषाको संरक्षण सञ्चारमाध्यमसँग प्रत्यक्ष जोडिएको बताइन्।
उनका अनुसार भाषा घरपरिवार वा समुदायमा बोलिने माध्यम मात्र नभई सञ्चारको अभ्यासमा प्रयोग हुँदा जीवित र पुस्तान्तरणयोग्य बन्छ। मातृभाषामा सञ्चार विस्तार हुनु भनेको सम्बन्धित समुदायको ज्ञान, संस्कृति र पहिचानलाई सार्वजनिक जीवनमा स्थापित गर्नु पनि हो।
‘मिथिलादेखि राउटे समुदायसम्मका नागरिकले राज्यका गतिविधि बुझ्न पाउनुपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचना प्राप्त गर्दा मात्रै लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ।’
नेपालको बहुभाषिक र बहुजातीय पहिचानलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै उनले मातृभाषाका पत्रकारहरूले भोगिरहेका व्यावसायिक तथा संस्थागत समस्याप्रति सरकार सकारात्मक रहेको बताइन्।
मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारबारे ठोस प्रस्ताव र सुझाव दिन उनले पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरिन्। भाषाको संरक्षणसँगै पत्रकारको वृत्तिविकास र सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।
सम्मेलनमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मी सहभागी थिए। अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको आदानप्रदानले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि थप मार्गदर्शन दिने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन्।
