१५ वर्षदेखि अधुरै कमला पुल [फोटो-फिचर]
सिरहा। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा छुट्याउने कमला नदीमा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । पुल अलपत्र परेपछि स्थानीय बासिन्दादेखि हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुसम्मले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
पुल नहुँदा सडकबाट सहजै गन्तव्य पुग्न सकिने यात्रुहरू बीच बाटोमै कमला नदी तर्नुपर्ने बाध्यतामा छन् । नदीमा पानीको बहाव कम भएका बेला पनि सहज वारपारको व्यवस्था छैन भने वर्षायाममा समस्या झन् गम्भीर बन्ने गरेको छ ।
यात्रुहरू अहिले डुंगाको सहारा लिएर नदी वारपार गर्छन् । एकपटक नदी तर्दा करिब एक सय रुपैयाँसम्म खर्च हुने यात्रुहरू बताउँछन् । मोटरसाइकलसहित नदी पार गर्नुपर्ने भएकाले यात्रुको खर्चसँगै जोखिम पनि थपिने गरेको छ ।
वर्षायाममा कमला नदीको बहाव बढेपछि डुंगाबाट वारपार गर्नसमेत जोखिम हुने गरेको स्थानीयको भनाइ छ । आकस्मिक रूपमा अस्पताल, बजार वा अन्य आवश्यक सेवाका लागि हिँडेका नागरिकले समेत नदीकै कारण थप समय र खर्च व्यहोर्नुपरेको छ ।
कमला नदीमा पक्की पुल बनेपछि सिरहा, धनुषासहित मधेसका विभिन्न जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको थियो । हुलाकी राजमार्गको प्रयोग बढ्ने, स्थानीय व्यापार विस्तार हुने तथा कृषि उपज ढुवानीमा सहजता आउने आशा थियो । तर, पुल निर्माणमा भएको ढिलाइले ती अपेक्षा अझै अधुरै छन् ।
पुल निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड नै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । दैनिक यात्रा गर्ने नागरिकले लामो समयदेखि अस्थायी उपायमा निर्भर हुनुपरेको छ ।
स्थानीय बासिन्दाले निर्माणमा भइरहेको ढिलाइको कारण पहिचान गरी तत्काल काम अघि बढाउन माग गर्दै आएका छन् । उनीहरूले वर्षौँसम्म आयोजना अलपत्र पार्दा त्यसको प्रत्यक्ष भार सर्वसाधारणमाथि परेको भन्दै निर्माणमा जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।
१५ वर्षदेखि निर्माणाधीन कमला पुल कहिले पूरा हुन्छ भन्ने अझै निश्चित छैन । पुल बन्न नसक्दा सडकको यात्रा नदीको किनारमा आएर रोकिने र यात्रु फेरि डुंगाको सहारा लिनुपर्ने अवस्था छ ।
हुलाकी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन तथा सिरहा-धनुषाबीचको आवागमन सहज बनाउन कमला पुलको निर्माण अब पनि अनिश्चित समयसम्म अलपत्र राख्न नहुने स्थानीयको माग छ।













