मस्कको दाबी : मानिसलाई एआईले उछिन्नेछ
काठमाडौं । टेस्ला र स्पेसएक्सका सञ्चालक एलन मस्कले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले चाँडै नयाँ चरण पार गर्ने दाबी गरेका छन् ।
उनले २०२७ को अन्त्यसम्म एआईले कम्प्युटर र इन्टरनेटमा आधारित अधिकांश काम मानिसभन्दा राम्रोसँग गर्न सक्ने अवस्था आउन सक्ने दाबी गरेका हुन्।
सामाजिक सञ्जालमा आएको एक पोस्टको जवाफ दिँदै उनले एआईको क्षमताबारे यस्तो धारणा सार्वजनिक गरे। उनले एआईले डिजिटल क्षेत्रमा मानिसभन्दा तीव्र र प्रभावकारी रूपमा काम गर्ने क्षमता विकास गरिरहेको जिकिर गरे।
सफ्टवेयर निर्माण, अनुसन्धान, डेटा विश्लेषण तथा इन्टरनेटमा आधारित अन्य काममा एआईले मानिसलाई पछि पार्न सक्ने उल्लेख गरे। यद्यपि यसको प्रभाव तत्काल भौतिक संसारमा भने त्यही गतिमा नदेखिने उनको ठम्याई छ।
कारखानामा सामान उत्पादन गर्ने, घर निर्माण गर्ने वा अन्य शारीरिक श्रममा एआईले तत्काल मानिसलाई विस्थापित गर्न नसक्ने बताए। त्यसैले एआईले नियन्त्रण गुमाएर रोबोटले संसार कब्जा गर्ने ‘द म्याट्रिक्स’ शैलीको अवस्था अहिले नै आउने चिन्ता गर्नुपर्ने अवस्था नरहेको मस्कले संकेत गरे ।
करिब एक दशकअघि गुगलका सहसंस्थापक ल्यारी पेजसँग भएको कुराकानी पनि स्मरण गर्दै मस्कले भविष्यमा एआईले कम्प्युटर ह्याकिङमा मानिसलाई निकै पछाडि पार्न सक्ने बताए ।
