`

रवि लामिछानेले भने- प्रधानमन्त्री बालेन संवेदनशील भएर काम गरिरहेका छन्

Nepal One HD ३१ भदौ २०८३ १४:४०
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता गरेको भन्ने आरोप अस्वीकार गरे। उनले प्रधानमन्त्री प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा पीडितहरूसँग निरन्तर सम्पर्क र छलफलमा रहेको बताए।

‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘बिल्कुल होइन। स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ। प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ। यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो।’

लामिछानेले सरकार र पार्टीले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको पनि बताए। उनका अनुसार पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने गरी कामको स्पष्ट बाँडफाँट गरिएको छ।

‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ। त्यसको डुप्लिकेसन आवश्यक छैन,’ उनले भने।

प्रधानमन्त्री शाहले स्थानीय तहका वडाध्यक्षदेखि पालिकाका जनप्रतिनिधिसम्मसँग प्रत्यक्ष संवाद गरिरहेको लामिछानेको दाबी छ। उनले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग घन्टौंसम्म कुराकानी गरिरहेको बताए।

लामिछानेले प्रधानमन्त्रीको बाढी व्यवस्थापनसम्बन्धी भूमिकामाथि प्रश्न उठाइरहने विषयलाई समेत टिप्पणी गर्दै भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ। यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *