२० वर्षमा नेपाललाई विकसित देश बनाउने योजना बनाऔँ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्याउने स्पष्ट योजना बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश विकासका लागि साझा लक्ष्य निर्धारण गरेर त्यसको कार्यान्वयनमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो अवधिमा हासिल गरेको विकासको उदाहरण दिँदै भट्टराईले नेपालले पनि आगामी दुई दशकमा त्यस्तै प्रगति गर्न सक्ने बताए।
‘हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले प्रश्न गरे।
उनले देश विकासको योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। दलहरूले साझा विकास लक्ष्यलाई व्यवहारमा उतार्न सके मात्रै देश अघि बढ्ने उनको भनाइ थियो।
भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने पनि बताए। विगतका अनुभवबाट पाठ सिक्दै नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने उनको धारणा थियो।
