कांग्रेसमा नीति र नेतृत्व विकासका लागि तीन नयाँ संस्था प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई चुनाव र सत्ता सञ्चालनमा मात्र सीमित नराखी नीति, ज्ञान र नेतृत्व निर्माणको केन्द्र बनाउने प्रस्ताव अघि सारेको छ।
१५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ दस्ताबेजमा नीति प्रतिष्ठान, नेतृत्व प्रतिष्ठान र गभर्नेन्स इन्स्टिच्युट स्थापना गर्ने प्रस्ताव गरिएको हो।
नीति प्रतिष्ठानले राष्ट्रिय समस्या अध्ययन गरी नीतिगत विकल्प तयार गर्ने तथा कार्यान्वयनबाट प्राप्त परिणामका आधारमा नीति सुधार गर्नेछ। नेतृत्व प्रतिष्ठानले पार्टीका सदस्य तथा नेताको क्षमता विकास, प्रशिक्षण र नेतृत्व निर्माणमा काम गर्ने प्रस्ताव छ।
त्यस्तै, गभर्नेन्स इन्स्टिच्युटले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नीति, बजेट र सेवा प्रवाहमा विज्ञ तथा प्राविधिक सहयोग दिनेछ। कांग्रेस सरकारमा हुँदा सरकारका प्राथमिकता र कार्यक्रमको तयारी तथा अनुगमन गर्ने र प्रतिपक्षमा रहँदा सरकारी नीति, कानुन र खर्चको समीक्षा गरी वैकल्पिक प्रस्ताव तयार गर्न सहयोग गर्ने अवधारणा छ।
उम्मेदवार छनोटमा पनि गभर्नेन्स इन्स्टिच्युट जोडिनेछ। चुनावका आकांक्षीले नेतृत्वसम्बन्धी प्रशिक्षण लिनुपर्ने र अन्तिम उम्मेदवारले निर्वाचित भएपछि गर्ने कामबारे सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव गरिएको छ।
कांग्रेसले पार्टी सदस्यबाहेक आम नागरिकसँग पनि प्रत्यक्ष संवाद गर्न भौतिक तथा डिजिटल ‘नागरिक संवाद मञ्च’ बनाउने योजना अघि सारेको छ। साथै, नागरिकका सुझाव र प्रश्नलाई सम्बन्धित प्रतिष्ठानमार्फत नीति निर्माणमा जोड्ने प्रस्ताव छ।
दस्ताबेज महाधिवेशनबाट पारित भए कांग्रेसको नीति निर्माण, नेतृत्व विकास र जनप्रतिनिधिको कार्यसम्पादनलाई संस्थागत गर्ने नयाँ संरचना लागू हुने कांग्रेसले जनाएको छ।
