`

चार दशक लामो राजनीतिक यात्रापछि कांग्रेस केन्द्रीय सदस्यमा को हुन् डा. प्रेमध्वज लामा?

Nepal One HD २१ असोज २०८३ ९:१२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामाले आदिवासी जनजाति कोटातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

लामो समयदेखि कांग्रेसको राजनीति, विद्यार्थी संगठन र शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका लामाले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्।

लामाको राजनीतिक यात्रा २०४३ सालमा पाटन क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिबाट सुरु भएको हो। २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पाटन क्याम्पसबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी त्यसपछि निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन्।

२०४७ सालमा नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला सचिव बनेका लामा २०४९ र २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बने। त्यसपछि २०५२ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी दुई पटक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे।

त्यसयता पनि उनको कांग्रेससँगको राजनीतिक सम्बन्ध निरन्तर रहँदै आएको छ। २०५९ सालदेखि हालसम्म महाधिवेशन प्रतिनिधिका रूपमा कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी हुँदै आएका लामाले संगठनभित्र लामो अनुभव हासिल गरेका छन्।

राजनीतिसँगै शैक्षिक क्षेत्रमा समेत सक्रिय लामाले २०५९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गर्दै आएका छन्। उनले २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी (PhD) उपाधि हासिल गरेका हुन्।

लामाको राजनीतिक यात्रामा जनआन्दोलनको अनुभवसमेत जोडिएको छ। २०६३ सालको जनआन्दोलनका क्रममा उनी घाइते भएका थिए।

करिब चार दशक लामो राजनीतिक तथा शैक्षिक अनुभव बोकेका लामाले अहिले कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्य अघि सारेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका पार्टीले सार्वजनिक गरेको छ।

लामाको विगतको राजनीतिक सक्रियताबारे यसअघि प्रकाशित विवरणमा पनि उनको राजनीतिक यात्रा २०४३ सालमा नेविसंघको सदस्यताबाट सुरु भएको, २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता तथा नेविसंघ सिन्धुपाल्चोकको जिल्ला नेतृत्वमा रहेको उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *