`

सरकार सञ्चालनमा कमजोरी छ, घेराबन्दी चिर्दै अघि बढ्छौँ : सभापति थापा

Nepal One HD ३० कार्तिक २०८३ १६:१५
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन् । आफूहरूमाथि विभिन्न किसिमका घेराबन्दी र अवरोध सिर्जना भए पनि त्यसलाई चिर्दै अघि बढ्ने उनको भनाइ छ ।

छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले एक कार्यक्रममा बोल्दै निर्वाचनबाट प्राप्त जनमतअनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहेको स्पष्ट पारे । प्रतिपक्षमा रहेर सरकारलाई आवश्यक सहयोग गर्ने र गलत कामप्रति खबरदारी गर्ने जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए ।

आफूहरूमाथि विभिन्न षड्यन्त्र र घेराबन्दी भइरहेको उल्लेख गर्दै थापाले त्यस्ता चुनौतीको सामना गर्न आफूहरू सक्षम रहेको दाबी गरे । यस्ता अवरोधलाई ठूलो विषय बनाउनुभन्दा देशको समय खेर जान नदिने र नागरिकले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था आउन नदिने आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो ।

थापाले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि आफू सर्लाही–४ का जनताको प्रतिनिधि भएको बताए । छठपछि केन्द्रीय समितिको बैठक सम्पन्न गरेर तीन–चार दिन समय छुट्याई पुनः निर्वाचन क्षेत्रमा आउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पार्टीको अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले सभापतिको जिम्मेवारी सम्हालेपछि क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने आफ्नो योजना रहेको जानकारी दिए ।

छठ पर्वको शुभकामना दिँदै थापाले धर्म, संस्कृति र परम्पराले मानिसलाई प्रकृतिसँग सामञ्जस्य कायम गर्दै अघि बढ्न सिकाउने बताए । छठले देश र जनताप्रतिको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत उनले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *