`

फाइनल पुग्न एनपीएलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमको भिडन्त

Nepal One HD २ मंसिर २०८३ १२:३५
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। समूह चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीच पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुन लागेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको खेल जित्ने टोलीले सोझै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

समूह चरणमा लुम्बिनीले आफ्नो दबदबा कायम राख्दै ७ खेलमध्ये ६ मा जित निकालेको थियो। एक खेलमा मात्रै पराजित भएको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रह्यो। यता सुदूरपश्चिमले ७ मध्ये ५ खेल जित्दै १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

यी दुई टोलीबीचको पछिल्लो प्रतिस्पर्धालाई हेर्दा लुम्बिनी बलियो देखिन्छ। समूह चरणमा भएको भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो। लुम्बिनीको बलिङसामु टिक्न नसकेको सुदूरपश्चिमले जम्मा ८८ रन बनाएको थियो। उक्त लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो।

लुम्बिनीको वर्चस्व समूह चरणमा मात्रै सीमित छैन। गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला सुदूरपश्चिमले दिएको ८५ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै उपाधि जितेको थियो। लगातारका दुई महत्वपूर्ण भिडन्तमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम आज त्यो इतिहास बदल्ने दाउमा हुनेछ।

यस सिजन लुम्बिनी सबै विभागमा सन्तुलित देखिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरिरहेको टोली पहिलो क्वालिफायर जित्दै लगातार दोस्रोपटक फाइनल पुग्ने योजनामा छ। त्यसका लागि लुम्बिनीले आफ्नो लयलाई निरन्तरता दिनुपर्नेछ।

सुरुवाती खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमले भने प्रतियोगिताको मध्यतिरबाट उत्कृष्ट पुनरागमन गरेको छ। लगातार चार खेलमा जित निकाल्दै प्लेअफमा पुगेको सुदूरपश्चिम अहिले उच्च मनोबलमा छ। लुम्बिनीविरुद्धको हारको बदला लिँदै फाइनलमा स्थान बनाउने उसको मुख्य लक्ष्य हुनेछ।

सुदूरपश्चिमले यसपटक टोलीको ब्याटिङ क्षमता थप मजबुत बनाउन स्कटल्यान्डका आक्रामक ओपनर जर्ज मुन्सीलाई समेत टोलीमा समावेश गरेको छ। सोमबार मात्रै टोलीमा आबद्ध भएका मुन्सीको उपस्थितिले सुदूरपश्चिमको ब्याटिङमा थप धार आउने अपेक्षा गरिएको छ।

लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक इतिहास बदल्ने अभियानमा छ। उता साविक विजेता लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने यात्रामा एक कदम अघि बढ्न चाहन्छ।

त्यसैले आजको भिडन्त केवल फाइनल प्रवेशको प्रतिस्पर्धा मात्र नभई गत संस्करणको फाइनल र यस सिजनको समूह चरणमा भोगेको हारको बदला लिने सुदूरपश्चिमको अवसरसमेत हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *