चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम
काठमाडाैँ । अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ । यसअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ ।
नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकी प्रशासनले क्लाउड कम्प्युटिङमार्फत अमेरिकी प्रविधि प्रयोग गर्ने सम्भावित कमजोरी नियन्त्रण गर्न यो कदम चालेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी कदमको आलोचना गर्दै यसले चीनको प्राविधिक विकास र विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्ने बताउनुभएको छ । चीनले आफ्नो हित र अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उनले जनाए।
यसैबिच अमेरिकी चिप निर्माता एनभिडियाका चिप चीन पुर्याएको आशङ्कामा मेगास्पिड इन्टरनेसनलमाथि अमेरिका, सिङ्गापुर र मलेसियामा अनुसन्धान भइरहेको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२४ मै अनुसन्धान सुरु गरेको थियो भने न्याय मन्त्रालयले कम्पनीमाथिको आपराधिक अनुसन्धान अघि बढाएको छ । मलेसियाले पनि आफ्नो देशमा भित्रिएका चिप अन्य मुलुकमा पुनः निर्यात भए–नभएको छानबिन गरिरहेको जनाएको छ।
