`

रुसमा सैन्य कार्गो विमान दुर्घटना : चालक दलसहित १९ जनाको मृत्यु

Nepal One HD ३ मंसिर २०८३ १२:४६
विश्व

काठमाडौं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य कार्गो विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै राज्य सञ्चारमाध्यमले मंगलबार भएको दुर्घटनामा १९ जनाकै मृत्यु भएको पुष्टि गरेका हुन्। सुरुमा १७ जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि पछि मृतकको संख्या संशोधन गरिएको हो।

रुसको एन्टोनोभ एएन-१२ सैन्य परिवहन विमान नियमित उडानका क्रममा केमेरोभो क्षेत्रको यागुनोभो गाउँनजिकैको निर्जन क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको रक्षा मन्त्रालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी दुर्घटनाको सम्भावित कारण रहेको आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

दुर्घटनापछि घटनास्थलमा पुगेका आपत्कालीन उद्धार टोलीले विमानमा लागेको आगो नियन्त्रणमा लिएका थिए। क्षेत्रीय गभर्नर इल्या सेरेदियुकले घटनास्थलमा उद्धार तथा अनुसन्धानसम्बन्धी काम अघि बढाइएको जानकारी दिएका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न रुसी एयरोस्पेस फोर्सको आयोग घटनास्थलमा खटिएको छ।

दुर्घटनाका बेला विमानमा कुनै कार्गो सामग्री लोड गरिएको थियो वा थिएन भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। त्यस्तै, विमान कुन गन्तव्यतर्फ उडिरहेको थियो भन्ने विषय पनि खुलाइएको छैन।

एन्टोनोभ एएन-१२ चार इन्जिनयुक्त सैन्य परिवहन विमान हो। रुसी सेनाले यसलाई सैनिक, हतियार तथा अन्य सैन्य सामग्री ओसारपसार र ढुवानीका लागि प्रयोग गर्दै आएको छ।

साथै, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *