गुरुनानक जयन्तीमा उपराष्ट्रपति यादवद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बी र नेपालीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले गुरुनानक देवलाई धार्मिक अगुवामात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा स्मरण गरेका छन्।
उनले गुरुनानक देवका सत्यनिष्ठा, करुणा, परस्पर सम्मान, समानता र सेवाभावका विचारले समतामूलक तथा सौहार्दपूर्ण समाज निर्माणमा प्रेरणा दिने उल्लेख गरेका छन्।
श्रमको सम्मान, मानव सेवा र साझा हितलाई प्राथमिकता दिने गुरुनानक देवको दर्शन आजको विश्वमा समेत उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ।
शिख परम्पराका सामूहिक सेवा, सहभोज र कीर्तनजस्ता अभ्यासले समानता, समावेशिता तथा सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै यादवले यस पर्वले राष्ट्रिय एकता र साझा समृद्धिको भावना थप सुदृढ बनाओस् भन्ने कामना गरेका छन्।
उनले गुरुनानक जयन्तीले सभ्य, समतामूलक, शिक्षित र समुन्नत नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
